पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना



काठमाडौँ,चैत १३— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण विभिन्न स्थानमा बदली, वर्षा तथा हिमपातको अवस्था देखिएको छ।

हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो हिमाली क्षेत्रमा अधिकांश बदली, पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।आज राति हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसमको यस अवस्थालाई ध्यानमा राख्दै महाशाखाले सम्भावित वर्षा, हिमपात तथा हुरीबाट हुनसक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अद्यावधिक मौसम जानकारी नियमित रूपमा लिन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्