सिंहदरबारमै फर्कियो संसद्, २७४ सांसदले शपथ लिए
काठमाडौँ,चैत १३— अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ नवनिर्वाचित सदस्यलाई सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। एक सदस्यले छुट्टै रूपमा शपथ लिएका छन्।
गत फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सांसद निर्वाचित भएका थिए। संसद् अब २०६५ पछि पहिलोपटक सिंहदरबारमै फर्किएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ र उहाँ प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। यसपटक ६६ सांसदले १८ विभिन्न मातृभाषामा शपथ लिएका छन्, जुन अघिल्ला वर्षभन्दा उल्लेख्य वृद्धि हो।

