प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ, विशेष समारोहमा वैदिक–बौद्ध विधि
काठमाडौँ,चैत १३ — रामचन्द्र पौडेलसमक्ष बालेन्द्र शाहले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता शाहलाई शपथ गराइएको हो। राष्ट्रपति पौडेलले आज बिहानै संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो।
समारोहमा रामसहायप्रसाद यादव, सुशीला कार्की, प्रकाशमान सिंह राउत, नारायणप्रसाद दाहालसहित पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसपटक प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परासँगै बौद्ध विधिअनुसार सम्पन्न गरिएको छ। समारोहमा सात वटा शङ्खबाट शङ्खनाद, १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा बौद्ध भिक्षुहरूद्वारा शुभ–मङ्गल पाठ गरिएको थियो।
शाहलाई बिहीबार नै पार्टीले संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो।

