सात जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह



काठमाडौँ,चैत १३— देशका विभिन्न भागमा आज भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सात जिल्लामा ५० मिलीमिटरभन्दा बढी वर्षा भएको छ।

विभागको अभिलेखअनुसार सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ। त्यस्तै म्याग्दीमा ७५, धनकुटाको मछुवाघाटमा ७४, सङ्खुवासभामा ५८, कास्कीमा ५७, नुवाकोटमा ५३ र रुकुममा ५१ मिलीमिटर वर्षा मापन गरिएको छ। ५० मिलीमिटरभन्दा बढी वर्षालाई भारी वर्षा मानिन्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अधिकांश स्थानमा ४० देखि ५० मिलीमिटरको आसपासमा वर्षा भएको छ। देशभर बदली भई धेरै स्थानमा वर्षा भइरहेको र यो क्रम शनिबारसम्म जारी रहने अनुमान गरिएको छ।

महाशाखाले हुरीबतास, चट्याङ र असिनापानीको जोखिम रहने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्