ओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आन्दोलन घोषणा तयारी
काठमाडौँ,चैत १४— नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आज बिहान साढे ८ बजे बस्नेछ। बैठकले ओली पक्राउको विरोधमा देशभर सडक आन्दोलन गर्ने तयारी गर्ने जनाएको छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिशोधको राजनीतिविरुद्ध आन्दोलनमा सहभागी हुन कार्यकर्ता तथा समर्थकलाई आह्वान गरेका छन्। उनले वर्तमान घटनाक्रमले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
उनले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरेको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
बैठकपछि आन्दोलनका कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिने एमालेले जनाएको छ।

