दाउन्नेमा सवारी दुर्घटना: तीनको मृत्यु, १४ घाइते



नवलपरासी,चैत १४ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

बर्दघाट–४ स्थित घ्यु खोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार दुर्घटनामा रोल्पाको बाघमाराका २५ वर्षीय गोविन बुढा र अन्य दुई जनाको ज्यान गएको छ। मृतकहरूको शव पृथ्वीचन्द्र अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनामा घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्य केही घाइतेको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उद्धारका क्रममा प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्य घाइते भएका छन्। उहाँको पनि बुटवलमा उपचार भइरहेको छ। काठमाडौँबाट छुटेको यात्रुबाहक बस रोल्पातर्फ जाँदै गरेको थियो।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्