ओली पक्राउप्रति एमाले नेताहरूको कडा आपत्ति, ‘राजनीतिक प्रतिशोध’को आरोप



काठमाडौँ,चैत १४— नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेताहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन्।

पार्टी उपाध्यक्ष गोकर्ण विष्टले शनिबार केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको कदमको कडा निन्दा गर्नुभयो। उहाँले ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभयो।

यसैगरी, नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पनि ओलीको गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रहयुक्त कदम भएको टिप्पणी गर्नुभयो। उहाँले कानुनी र राजनीतिक दुवै माध्यमबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै देशव्यापी अभियान सञ्चालन गर्ने संकेत गर्नुभयो।

अर्का नेता विशाल भट्टराईले सरकारको कदम कार्की आयोगको विवादित प्रतिवेदनमा आधारित रहेको आरोप लगाउँदै यसलाई प्रतिशोधपूर्ण निर्णय भएको बताउनुभयो। उहाँले यस्तो कदमले देशमा स्थायित्व र शान्ति कमजोर हुने उल्लेख गर्नुभयो।

त्यसैगरी, एमाले नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै तत्काल बिना शर्त रिहा गर्न माग गर्नुभयो। उहाँले सरकारको कदमले द्वन्द्व निम्त्याउने चेतावनी दिनुभयो।

यसबीच सरकारले ओलीलाई ज्यानसम्बन्धी कसुरमा शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्