ओलीको रिहाइ माग्दै एमालेको आन्दोलन घोषणा
काठमाडौँ,चैत १४ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तत्काल रिहाइ माग गरेको छ।साथै, ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भएको निष्कर्ष निकालेको छ।
पार्टी वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले ओलीको गिरफ्तारीविरुद्ध कानुनी, सडक र सदन तीनै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकले भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।
बैठकपछि महासचिव शंकर पोखरेलले आम नागरिक र नागरिक समाजसँग सहकार्य गर्दै सशक्त आन्दोलन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उनका अनुसार भोलिदेखि पार्टी र आजैदेखि जनवर्गीय संगठनहरूले विरोध कार्यक्रम सुरु गर्नेछन्।
एमालेले चैत १५ गते देशभर जिल्ला पार्टी कमिटीमार्फत प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रमसमेत तय गरेको छ।साथै, विभिन्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणसँग संवाद तथा सहकार्यका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको जनाइएको छ।
यसैबीच, पार्टी निकट युवा संघ नेपालले पनि ओली पक्राउको विरोधमा आज अपराह्न माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ।

