भीमफेदी–कुलेखानी सडकमा हाइस दुर्घटना, तीन घाइते



मकवानपुर — भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ एघारघुम्ती क्षेत्रमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.३ ख.७८७६ नम्बरको हाइस गाडी शनिबार ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार चालकसहित १० जना सवारमध्ये तीन जना घाइते भएका हुन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।

घाइते हुनेमा उदयपुर त्रियुगा नगरपालिका–११ गाईघाटका ८६ वर्षीय गोरे राई, ६२ वर्षीया हर्कमाया राई र त्रियुगा–१० का शम्भु कटुवाल रहेका छन्।

गम्भीर घाइते गोरे राई गाडीबाट हाम फाल्ने क्रममा पछाडिको टायरले कुल्चिँदा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेमध्ये हर्कमायाको निधार र हातमा तथा कटुवालको टाउकोमा चोट लागेको छ, उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।

घटनामा बाँकी यात्रुहरू आफैँ उपचारका लागि गएका छन् भने चालक हाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्