भदौ २३–२४ घटनामा निष्पक्ष छानबिन माग गर्दै कांग्रेसको सरकारप्रति आपत्ति



काठमाडौँ,चैत १४ — नेपाली कांग्रेसले भदौ २३ र २४ का घटनाबारे सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै निष्पक्ष, पारदर्शी र विधिसम्मत छानबिनको माग दोहोर्‍याएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा कांग्रेसले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने अडान राख्दै आएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपारदर्शी रूपमा बाहिर आएको र सरकारले अझै विधिसम्मत रूपमा सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा समेटे पनि २४ गतेका घटनालाई बेवास्ता गरेको देखिएको आरोप कांग्रेसको छ।

कांग्रेसले प्रतिवेदन एकपक्षीय र अपूर्ण देखिएको दाबी गर्दै सर्वोच्च अदालतले उठाएको निष्पक्षतासम्बन्धी प्रश्नलाई समेत यसले थप बल पुर्‍याउने जनाएको छ।

त्यस्तै, सरकारले प्रतिवेदन पूर्ण अध्ययन नगरी ‘सेलेक्टिभ’ ढङ्गले निर्णय लिएको र हतारमा गरिएको गिरफ्तारीले विधिको शासन कमजोर बनाउने चेतावनी पनि दिइएको छ।

कांग्रेसले दुवै दिनका घटनामा संलग्न जो–कोहीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्नुपर्नेमा जोड दिँदै सरकारलाई संयमित र जिम्मेवार ढङ्गले अघि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्