पूर्वगृहमन्त्री लेखक अदालतमा पेश, ओली पनि उपस्थित गराइँदै
काठमाडौँ,चैत १५— पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो। सार्वजनिक बिदाका कारण आइतबार अदालतमा उपस्थित गराइएको हो।
यसैबीच पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालतमा पेश गर्ने तयारी गरिएको छ। गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए। आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सरकारी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो।
उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित जिम्मेवार पदाधिकारीलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णयपछि दुवै नेतालाई पक्राउ गरिएको हो।
पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

