जेनजी शहीद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारी
काठमाडौँ,चैत १५— जेनजी आन्दोलनमा शहीद भएका २७ जनाका परिवारका सदस्यले नेपाल विद्युत प्राधिकरणमा रोजगारी पाउने भएका छन्।
प्राधिकरणले आइतबार रोजगारीका लागि आवेदकहरूको नाम सार्वजनिक गर्दै कसैको हकदाबी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
निवर्तमान उर्जामन्त्री कुलमान घिसिङले उक्त निर्णयको स्वागत गर्दै सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्नुभएको छ। उहाँका अनुसार शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा उनीहरूलाई शैक्षिक योग्यताअनुसार बढीमा तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको छ।
सरकार र आन्दोलन पक्षबीच भएको सहमति तथा मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधिअनुसार शहीद परिवारप्रति राज्यको उत्तरदायित्व पूरा गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ।


