नेपाल कबड्डी लिग सिजन–२ का टोली र मालिक सार्वजनिक



काठमाडौँ, चैत १५ — आगामी जेठ २२ गतेदेखि सुरु हुने नेपाल कबड्डी लिग सिजन–२का ६ वटा फ्रेन्चाइज टोली र तिनका मालिक सार्वजनिक गरिएको छ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले काठमाडौँमा आयोजित कार्यक्रममा टोलीको नाम र स्वामित्व सार्वजनिक गरेको हो ।विराटनगरको टोली भवानी राणाको नेसनल इन्भेस्टमेन्ट होल्डिङ प्रालिले लिएको छ। यस टोलीले नाम परिवर्तन गर्दै ‘विराटनगर ब्यान्डिट्स’बाट ‘विराटनगर बाहुबली’ राखिएको छ।

पहिलो संस्करणको विजेता जनकपुर नाइट्सको स्वामित्व यथावत् रहेको छ भने उपविजेता काठमाडौँ माभरिक्स नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएको छ। त्यस्तै पोखरा लेकर्स, बुटवल बुल्स र धनगढी वाइल्डक्याट्स पनि आ–आफ्ना कर्पोरेट समूहद्वारा सञ्चालन हुनेछन्।

आयोजकका प्रमुख अमितकुमार बेगानीले दोस्रो संस्करणलाई अझ भव्य र प्रतिस्पर्धात्मक बनाउने बताएका छन्। कार्यक्रममा नेपालका लागि श्रीलङ्काली राजदूत रुवन्थी डेलपिटियालगायतको उपस्थिति रहेको थियो।

लिगका लागि स्वदेशी खेलाडी छनोट भइसकेको छ भने १५ देशका एक सयभन्दा बढी विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।
टोली र मालिकहरू:

विराटनगर बाहुबली — भवानी राणा
जनकपुर नाइट्स — गणेश लम्साल
काठमाडौँ माभरिक्स — साल्भिन कालशङ्कर
पोखरा लेकर्स — रामचन्द्र कोइराला
बुटवल बुल्स — नवीन साह
धनगढी वाइल्डक्याट्स — माधव अग्रवाल

प्रतिक्रिया दिनुहोस्