नदीमा डुबेर बेपत्ता दुई बालक मृत भेटिए
चितवन,चैत १५— नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही महानगरपालिका–१६ शरणपुरका १३/१४ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्री मृत फेला परेका हुन्। दुवै जना मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए।
घटनापछि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। खोजीका क्रममा घटनास्थलबाट करिब २० फिट गहिराइबाट दुवैको शव निकालिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

