जेनजी आन्दोलनका घाइतेको पीडा : उपचारपछि पनि आर्थिक र मानसिक सङ्कट
काठमाडौँ, चैत १६ — भदौ २३–२४ को जेनजी आन्दोलनमा घाइते भएकी २० वर्षीया लिजा अधिकारी ६४ दिन अस्पताल बसेपछि हाल घरमै आराम गर्दै परीक्षाको नतिजा कुर्दै हुनुहुन्छ। मोरङ घर भई काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत अधिकारीको कुमबाट लागेको गोली छाती हुँदै निस्किएको थियो। अझै हड्डी नजोडिएकाले उहाँ नियमित रूपमा अस्पताल फलोअपमा जानु परिरहेको छ।
उहाँका अनुसार चोटको पीडासँगै आर्थिक बोझले झन् कठिन बनाएको छ। उपचार खर्च सरकारले बेहोरे पनि औषधि, यातायात र दैनिक जीवनयापनका खर्च आफैँले जुटाउनुपरेको उहाँले बताउनुभयो। भाडा, खाना र उपचारसँग सम्बन्धित अतिरिक्त खर्चले विद्यार्थी जीवन झनै कष्टकर बनेको छ।
जेनजी आन्दोलनका अन्य घाइतेहरू पनि उस्तै समस्यामा छन्। काभ्रे घर भई काठमाडौँ बस्ने ३७ वर्षीय राम ताम्राकारले आन्दोलनका क्रममा एउटा आँखा गुमाउनुभएको छ। घाइते भएपछि रोजगारीसमेत गुमाएका उहाँले हाल व्यक्तिगत खर्चमै उपचार गरिरहनु परेको बताउनुभयो।
त्यसैगरी, नुवाकोट घर भई काठमाडौँ बस्दै आएका २९ वर्षीय ललितमान तामाङको खुट्टा र शरीरका विभिन्न भागमा गोलीका छर्रा लागेका थिए। उपचारपछि घर फर्किए पनि उहाँलाई नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था छ। आर्थिक अभावका कारण दैनिक गुजारा चलाउनै कठिन भएको उहाँको भनाइ छ।
सरकारले जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको भए पनि धेरै घाइतेहरू अझै आफ्नै खर्चमा उपचार गरिरहेका छन्। केहीले सीमित आर्थिक सहयोग पाए पनि दीर्घकालीन उपचार र जीवनयापनका लागि पर्याप्त नभएको गुनासो गरेका छन्।
घाइतेहरूका अनुसार शारीरिक पीडासँगै मानसिक तनाव पनि बढ्दो छ। रोजगारी गुम्नु, घरभाडा तिर्न नसक्नु र परिवारको जिम्मेवारी बढ्नुले धेरैलाई गम्भीर मानसिक दबाबमा पारेको छ। पीडितहरूले राज्यबाट थप सहयोग, पुनःस्थापना कार्यक्रम र दीर्घकालीन राहतको माग गरेका छन्। उनीहरूले आन्दोलनमा भएको क्षतिको उचित सम्बोधन नगरे अझै ठूलो मानवीय समस्या निम्तिन सक्ने चेतावनी दिएका छन् ।

