रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ योजना



काठमाडौँ,चैत १६ — बालेन्द्र शाह नेतृत्वको सरकारले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ कार्ययोजना अघि सारेको छ। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत विभिन्न सरकारी निकायबीच समन्वय गरी एकीकृत रूपमा काम गरिने जनाइएको छ।

योजना अनुसार देशभर रहेका ७५३ रोजगार सेवा केन्द्रलाई ६० दिनभित्र ‘रोजगार सिप तथा उद्यमशीलता केन्द्र’ मा रूपान्तरण गरिनेछ। यी केन्द्रहरूले बेरोजगार दर्तासँगै सिप विकास, तालिम समन्वय र उद्यमशीलता प्रवर्द्धनमा काम गर्नेछन्।

विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःस्थापनालाई प्राथमिकता दिइनेछ। साथै, स्थानीय तहलाई सिप विकास योजना कार्यान्वयन र बजेट व्यवस्थापनमा जिम्मेवार बनाइनेछ।

सरकारले बेरोजगारको विवरण व्यवस्थापन, सिपको माग–आपूर्ति विश्लेषण तथा तालिम प्रणालीलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली विकास गर्ने योजना बनाएको छ।

यद्यपि, विज्ञहरूले आन्तरिक रोजगारीलाई प्राथमिकता दिइए पनि वैदेशिक रोजगारी व्यवस्थापनका विषय पर्याप्त समेटिन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्