डढेलोले उजाड बनेको रसुवाको गतलाङ वनमा ‘ड्रोन’बाट वनस्पति बीउ छरियो



रसुवा, चैत १६ — डढेलोका कारण उजाड बनेको रसुवाको गतलाङ क्षेत्रको वनलाई पुनः हरियाली बनाउने उद्देश्यले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने योजना सुरु गरिएको छ। डिभिजन वन कार्यालयका अनुसार दुर्गम र भौगोलिक रूपमा कठिन क्षेत्र भएकाले आधुनिक प्रविधि प्रयोग गर्न लागिएको हो।

विसं २०६५ मा भएको भीषण डढेलोका कारण सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट भएका थिए। त्यसपछि लामो समयसम्म वन क्षेत्र पुनर्जीवन पाउन सकेको थिएन।

कार्यालय प्रमुख शम्भु तामाङका अनुसार आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरु गरिनेछ। यसका लागि इसिमोड र वन विज्ञान अध्ययन संस्थानसँग त्रिपक्षीय सहकार्य गरिएको छ।

डढेलोले प्रभावित ४५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा १०० हेक्टरमा बीउ छर्ने योजना बनाइएको छ। यसअघि वन पुनःस्थापनाअन्तर्गत ३० हजारभन्दा बढी बिरुवा रोपिएको र त्यसमा रसुवागढी जलविद्युत् आयोजनाको पनि योगदान रहेको जनाइएको छ।

हाल उक्त क्षेत्रमा ६८ वटा सामुदायिक वनमार्फत संरक्षण कार्य अघि बढाइएको छ। साथै, डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।

भिरालो भूगोल, हुरीबतास र दुर्गम वन क्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको भन्दै वन कार्यालयले दीर्घकालीन संरक्षणमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्