महावीर जैनको २६२५औँ जन्मजयन्ती देशभर मनाइँदै
काठमाडौँ,चैत १७ — महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
इसापूर्व ५९९ मा भारतको वैशाली नजिकै ‘कुण्डलग्राम’ गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाको सन्तानका रूपमा उहाँको जन्म भएको मानिन्छ। राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीमा महावीरले सांसारिक जीवन त्याग गरी तपस्यामा लाग्नुभएको जैन ग्रन्थहरूमा उल्लेख छ।
करिब १२ वर्षको कठोर तपस्यापछि उहाँले मानव समाजलाई सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश दिनुभएको हो। उहाँ जैन धर्मका २४ तीर्थङ्करमध्ये एक प्रमुख तीर्थङ्करका रूपमा पूजनीय हुनुहुन्छ।
जैन दर्शनअनुसार अरूलाई दुःख दिनु पनि हिंसा हो भन्ने मान्यता राख्दै महावीरले उपकार र करुणालाई जीवनको मूल आधार बनाउनुपर्ने शिक्षा दिनुभएको छ।
यस अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न संघसंस्थाले विशेष कार्यक्रम, प्रवचन तथा धार्मिक अनुष्ठान आयोजना गरी दिवस मनाइरहेका छन् ।

