संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारको तयारी



काठमाडौँ,चैत १७ — सरकारले संविधान संशोधनको तयारी सुरु गरेको छ। यसका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा बहसपत्र तयार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका विषय अघि बढाइनेछ।

प्रवक्ता पोखरेलले ‘हाई प्रोफाइल’ व्यक्तिहरूको पक्राउबारे सरकार कानुनी प्रक्रियाप्रति संवेदनशील रहेको उल्लेख गर्दै सबै प्रक्रिया कानूनअनुसार अघि बढिरहेको बताउनुभयो। जेनजी आन्दोलनका घटनाबारे कार्की आयोगको प्रतिवेदन कार्यान्वयन मात्र गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो।

यस्तै, मन्त्रिपरिषद् बैठकमा सहकारी पीडितहरूको विषयमा पनि छलफल भएको छ। एक लाख रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

सरकारले संविधान संशोधन, कानुनी प्रक्रिया र पीडितहरूको राहतका विषयलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्