ओली र लेखकको मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउन आदेश



काठमाडौँ,चैत १७— सर्वोच्च अदालतले केपी शर्मा ओली र रमेश लेखकसँग सम्बन्धित अनुसन्धानका क्रममा तयार पारिएको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ गर्दै अदालतले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनसमेत झिकाउन आदेश दिएको हो। आदेशअनुसार ती सबै कागजात महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा पेस गर्नुपर्नेछ।

ओली र लेखकका पक्षबाट दायर रिटमा दुई फरक इजलासले कारण देखाऊ आदेश जारी गर्दै आवश्यक कागजात झिकाउन निर्देशन दिएका हुन्। साथै, अदालतले पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (६) अनुसारको अवस्था रहेको/नरहेको स्पष्ट पार्दै तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ।

उक्त व्यवस्थाअनुसार अभियुक्त भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने सम्भावना भएमा मात्रै जरुरी पक्राउ पुर्जी जारी गर्न मिल्ने कानुनी प्रावधान छ।

यसअघि पक्राउ परेका दुवै नेतामाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्