पश्चिम एसियामा नयाँ श्रम स्वीकृति नखोल्ने निष्कर्ष



काठमाडौँ,चैत १७— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको अवस्थामा पश्चिम एसियाका देशमा नयाँ श्रम स्वीकृति नखोल्ने निष्कर्ष निकालेको छ।

श्रममन्त्री दीपककुमार शाह, सचिव डा. दीपक काफ्ले तथा सम्बन्धित निकायका पदाधिकारी र श्रम काउन्सलरहरूबीच सोमबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। ती देशमा कार्यरत श्रम काउन्सलरहरूले परिस्थिति अझै सुरक्षित नभएको भन्दै नयाँ स्वीकृति नदिन सुझाव दिएका थिए।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार हाल पश्चिम एसियामा जारी तनावका कारण नेपाली श्रमिकको सुरक्षामा जोखिम देखिएको छ। अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण एक नेपालीको मृत्यु हुनुका साथै करिब २० जना घाइते भएका छन्।

यसअघि मन्त्रालयले फागुन १७ गतेदेखि विभिन्न पश्चिम एसियाली देशमा नयाँ तथा पुनः श्रम स्वीकृति रोक लगाएको थियो। पछि केही देशमा आंशिक रूपमा पुनः श्रम स्वीकृति खुला गरिए पनि अहिले पुनः नयाँ स्वीकृति रोक्ने निष्कर्षमा पुगेको हो।

छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको आवास, स्वास्थ्य सुविधा र कार्यस्थल सुरक्षाका विषयमा समेत समीक्षा गरिएको थियो। श्रमिकका गुनासा सम्बोधनलाई प्राथमिकतामा राख्ने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सेफ हाउस तथा सेल्टर व्यवस्थापन प्रभावकारी बनाउने, दूतावासमार्फत सूचना प्रवाह सुधार गर्ने र गुनासाहरू छिटो समाधान गर्ने विषयमा पनि सहमति भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्