देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, मौसम आंशिक बदली



काठमाडौँ,चैत १७ — हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।

मङ्गलबार दिउँसो कोशी र मधेश प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज राति भने कोशीसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ।महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। साथै सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्