नेपालमा बाथरोग बढ्दो, उपचार पहुँच अझै चुनौतीपूर्ण
काठमाडौँ,चैत १७— नेपालमा बाथरोगका बिरामी तीव्र रूपमा बढ्दै गए पनि यसको पहिचान र उपचारले प्राथमिकता पाउन सकेको छैन।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका करिब ३० प्रतिशत मानिसमा बाथरोग देखिन्छ भने नेपालमा करिब १० प्रतिशत अर्थात् झन्डै ३० लाख मानिस प्रभावित रहेको अनुमान छ।
विशेषज्ञहरूका अनुसार ग्रामीण क्षेत्रमा शारीरिक श्रम बढी हुने भएकाले बाथरोगको समस्या झनै गम्भीर छ। वरिष्ठ चिकित्सक डा. विनीत वैद्यका अनुसार प्रारम्भिक लक्षणलाई सामान्य दुखाइ ठानेर बेवास्ता गर्दा रोग जटिल बन्दै जाने गरेको छ।
नेपालमा बाथरोग विशेषज्ञको अभाव पनि ठूलो समस्या बनेको छ। देशभर करिब १५ जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन्, जसका कारण अधिकांश बिरामीले समयमै उपचार पाउन सकिरहेका छैनन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत छुट्टै बाथरोग एकाइ स्थापना गर्न नसकेको स्वीकार गरेको छ। पुरानो दरबन्दी संरचनाका कारण नयाँ विशेषज्ञ थप्न कठिन भएको बताइएको छ।
विशेषज्ञका अनुसार बाथरोग दीर्घकालीन भएकाले नियमित औषधि, परीक्षण र निगरानी आवश्यक पर्छ। तर आर्थिक अभावका कारण धेरै बिरामी उपचारबाट वञ्चित हुने अवस्था देखिएको छ। बाथरोगका लक्षणमा जोर्नी दुख्ने, सुन्निने, बिहान हातखुट्टा कक्रक्क हुने लगायत समस्या देखिन्छन्, जसले दीर्घकालमा मुटु, फोक्सो र मिर्गौलासम्म असर पुर्याउन सक्छ।
यस क्षेत्रमा अध्ययन, नीति र जनचेतनाको अभाव रहेकाले बाथरोग नियन्त्रणका लागि स्पष्ट कार्यक्रम, विशेषज्ञ सेवा विस्तार र पहुँचयुक्त उपचार प्रणाली आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

