दीपक खड्काको स्वास्थ्यमा सुधार, टिचिङ अस्पतालमा उपचाररत
काठमाडौँ,चैत १७— प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काको स्वास्थ्यमा सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालले उहाँको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
उच्च रक्तचाप बढेसँगै बान्ता र पखाला देखिएपछि उहाँलाई सोमबार बिहान उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बान्ता पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने पखालामा अझै पूर्ण सुधार हुन बाँकी छ। अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। स्वास्थ्य समस्या देखिएपछि उनलाई बिहान ३ बजे महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गृह मन्त्रालयका अनुसार भदौ २४ गते खड्काको घरमा जलेका नोटसम्बन्धी घटनालाई आधार बनाएर अनुसन्धान अघि बढाइएको छ।

