वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौँ,चैत १७ — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। अब श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावलीअनुसार स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण अनिवार्य भए पनि व्यवहारमा सीमित संस्थामार्फत मात्र सेवा दिइँदै आएको थियो।

मन्त्रालयले अब थप सरकारी तथा स्वीकृत अस्पताललाई स्वास्थ्य परीक्षणका लागि अनुमति दिने प्रक्रिया अघि बढाएको जनाएको छ।इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकरणका लागि आवेदन दिन सक्नेछन्।

स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिअनुसार नयाँ स्वास्थ्य संस्थालाई पनि प्रक्रिया पूरा गरी समावेश गरिने मन्त्रालयले जनाएको छ।

सरकारको यो निर्णयले स्वास्थ्य परीक्षण प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्