प्रतिनिधि सभाको अधिवेशन भोलिदेखि
काठमाडौँ,चैत १८ — करिब सात महिनापछि प्रतिनिधि सभाको पहिलो अधिवेशन चैत १९ गतेदेखि सुरु हुने भएको छ। रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभा फागुन २१ को निर्वाचनपछि पुनः गठन भएको हो। नयाँ संसद्सामु विधायिकी कार्य र प्रभावकारी संसदीय निगरानी गर्ने प्रमुख चुनौती रहेको छ।
अधिवेशन सुरु भएसँगै सभामुख र उपसभामुखको निर्वाचन पहिलो प्राथमिकतामा पर्नेछ। संवैधानिक व्यवस्था अनुसार पहिलो बैठकको १५ दिनभित्र दुवै पदमा निर्वाचन गर्नुपर्ने हुन्छ।
साथै, सरकारको नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र विभिन्न विधेयक पारित गर्ने काम पनि तत्काल अघि बढाइनेछ।
अघिल्लो प्रतिनिधि सभाबाट पारित हुन नसकेका धेरै विधेयक पुनः अघि बढाउनुपर्ने दबाब पनि नयाँ संसद्माथि रहेको छ।

