कोशी प्रदेशमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसाय संकटमा



विराटनगर,चैत १८ — कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको बर्डफ्लु सङ्क्रमणले पूर्वी नेपालको पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चैत ३ देखि सुरु भएको सङ्क्रमण १६ वटा फार्ममा फैलिँदा ६६ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

सङ्क्रमणपछि कुखुराको मासुको माग करिब ५० प्रतिशतले घटेको छ भने बजारमा मूल्य घटेर प्रतिकेजी करिब ३६० रुपैयाँमा झरे पनि खरिदकर्ता न्यून छन्। उपभोक्तामा फैलिएको त्रासका कारण व्यवसाय ठप्पजस्तै भएको व्यापारीहरूले बताएका छन्।

किसान र व्यवसायी दुवै आर्थिक संकटमा परेका छन् भने ऋण लिएर व्यवसाय सञ्चालन गरेका किसान विस्थापित हुने अवस्थामा पुगेका छन्। सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरे पनि अवस्था अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्