पश्चिमी वायुको प्रभावः देशभर बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,चैत १८— हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण अधिकांश क्षेत्रमा बदली रही वर्षा र हिमपात भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
गण्डकीसहित कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको जनाइएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो हिमाली क्षेत्रमा बदली रहने र पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। केही हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको छ।
मौसमी अवस्थाका कारण विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

