छात्रावासमै छात्राले जन्माइन् बच्चा, विद्यालयमाथि लापर्बाहीको गम्भीर आरोप



पाल्पा,चैत १८— तिनाउ गाउँपालिका–३ झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएकी कक्षा ११ की एक छात्राले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ।

विद्यालयका अनुसार शिक्षा सङ्कायमा अध्ययनरत ती छात्रा (नाम परिवर्तन) ले गत चैत ११ गते राति होस्टेलमै छोरी जन्माएकी हुन्। टाढाबाट आएकी भएकाले विद्यालयले छात्रावास सुविधा दिएको थियो।

घटना भएपछि होस्टेल वार्डेनको सहयोगमा उनलाई तत्काल आफन्तको सम्पर्कमा ल्याई उपचारका लागि बुटवल पठाइएको थियो। सहपाठीका अनुसार सुत्केरी हुनुअघिसम्म पनि ती छात्रा नियमित रूपमा कक्षामा सहभागी हुनुका साथै परीक्षामा समेत सहभागी भइरहेकी थिइन्।

यस घटनापछि स्थानीयले विद्यालय प्रशासनको गम्भीर लापर्बाही भएको आरोप लगाएका छन्। विद्यार्थी गर्भवती भएको विषयमा विद्यालय, शिक्षक र होस्टेल व्यवस्थापन अनभिज्ञ रहनु चिन्ताजनक भएको उनीहरूको भनाइ छ।

विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले घटना स्वीकार गर्दै बच्चा जन्मिएपछि मात्र जानकारी भएको बताएका छन्। उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छात्रावास व्यवस्थापन सुदृढ गरिने र थप अनुसन्धान गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्