नेप्से परिसूचकमा भारी गिरावट, सबै समूहका सूचक घटे
काठमाडौँ,चैत १८— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ बिन्दुमा झरेको छ। यो कुल २ दशमलव ६२ प्रतिशतको गिरावट हो।
आज ३४७ कम्पनीका तीन करोडभन्दा बढी कित्ता शेयर एक लाख २३ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहमा उल्लेख्य गिरावट देखिएको छ भने उत्पादन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूह पनि घटेका छन्।
आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि रहँदा शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ।

