साइबर बुलिङविरुद्ध अमिशा पराजुलीसहित युवाहरूको उजुरी
काठमाडौँ,चैत १८— सामाजिक सञ्जालमा चरित्र हत्या, गालीगलौज र धम्की आएको भन्दै अमिशा पराजुलीसहितका युवाहरूले नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटीमा उजुरी दिएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोध कार्यक्रममा सहभागी भएपछि पराजुलीमाथि सामाजिक सञ्जालमा तीव्र आलोचना र दुर्व्यवहार भएको जनाइएको छ। उनीमाथि अमानवीय गालीगलौजसँगै गम्भीर प्रकृतिका धम्कीसमेत आएको बताइएको छ।
पराजुलीले आफ्नो भिडियो दुरुपयोग गरिएको, अपमानजनक टिप्पणी गरिएको तथा धम्की दिइएको भन्दै सम्बन्धित व्यक्तिहरूमाथि सामूहिक रूपमा उजुरी दिएको जानकारी दिनुभयो। आफूले कुनै गलत अभिव्यक्ति नदिएको भए पनि योजनाबद्ध रूपमा नकारात्मक प्रचार गरिएको उहाँको आरोप छ।
उहाँले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएका थिइन्। त्यसलगत्तै सामाजिक सञ्जालमा उहाँमाथि साइबर बुलिङ बढेको जनाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

