एसईई परीक्षा भोलिदेखि, सम्पूर्ण तयारी पूरा



काठमाडौँ,चैत १८ — भोलि बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले परीक्षा सञ्चालनका सबै तयारी पूरा भएको जानकारी दिनुभयो।

उहाँका अनुसार परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ र जापानमा एक गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्। ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा (४१ हजार १ सय ५५) र सबैभन्दा कम मनाङमा (३७) रहेका छन्। जापानस्थित केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुनेछन्।

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ विद्यार्थी पनि सहभागी हुनेछन्। असफल विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर दिइएको छ।

बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फतै परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, अपाङ्गता भएका विद्यार्थीलाई अतिरिक्त समय (१ घण्टा ३० मिनेट) र लेखन सहयोगीको व्यवस्था गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई समयमै केन्द्रमा पुग्न, प्रवेशपत्र अनिवार्य साथमा ल्याउन तथा मोबाइललगायत निषेधित सामग्री नल्याउन आग्रह गरेको छ।

त्यस्तै परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । उप–नियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने पनि स्पष्ट पार्नुभयो । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उहाँको भनाइ छ ।उहाँकाअनुसार परीक्षाकेन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्