जनमत प्रतिपक्षको पक्षमा रहेको थापाको दाबी
काठमाडौँ,चैत १८— नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग संसदीय अंकगणित भए पनि वास्तविक जनमत प्रतिपक्षको पक्षमा रहेको दाबी गर्नुभएको छ।
बुधबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कुल खसेको १ करोड ८ लाख मतमध्ये रास्वपाले करिब ४७ प्रतिशत (झन्डै ५१ लाख) मत मात्र पाएको र बाँकी ५३ प्रतिशत मत प्रतिपक्षी दलहरूको पक्षमा परेको बताउनुभयो।
उहाँका अनुसार नेपाली काँग्रेस, एमाले, नेकपा तथा मधेसवादी दलहरूलाई जनताले प्रतिपक्षको भूमिका दिएको उल्लेख गर्दै सो जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्ने बताउनुभयो।
“संसदीय अंकगणितले रास्वपा बहुमतमा देखिए पनि जनमतको हिसाबले ऊ अल्पमतमा छ र प्रतिपक्ष बहुमतमा छ,” थापाको भनाइ थियो।
निर्वाचनको विस्तृत समीक्षा आगामी केन्द्रीय समिति बैठकमा गरिने जनाउँदै एमालेले प्रारम्भिक रूपमा उक्त जनमतलाई आफ्नो शक्ति रूपमा लिएको उहाँले बताउनुभयो।

