खड्का र शर्मा रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी
काठमाडौँ,चैत १८— सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मालाई रिहा गर्न अस्वीकार गरेको छ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका खड्का तथा बालिकामाथि श्रम र शारीरिक शोषणको आरोपमा पक्राउ परेकी शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले तत्काल रिहा गर्न नमानेको हो। अदालतले दुवै प्रकरणमा कारण देखाउ आदेश मात्र जारी गरेको छ।
खड्काकी पत्नी विनिता थापाले दायर गरेको रिटमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण पेश गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो।
यस्तै, शर्मा प्रकरणमा उनका पति चिन्तामणि शर्माले दायर गरेको रिटमा पनि सर्वोच्चले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लगायत निकायसँग पक्राउको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

