कुवेतमा अलपत्र ३१८ नेपाली र ९ शव नेपाल ल्याइयो



भैरहवा,चैत १८— कुवेतबाट तीन सय १८ जना नेपाली नागरिक तथा नौवटा शव चार्टर उडानमार्फत नेपाल ल्याइएको छ। उक्त विमान साँझ करिब पौने आठ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेती अदालतले डिपोर्ट गर्ने आदेश दिएपछि ती नेपालीलाई स्वदेश फर्काइएको हो। तर नेपाल फर्किएका केही व्यक्तिले त्यहाँ जारी द्वन्द्वका कारण असुरक्षित महसुस भएपछि दूतावासको समन्वयमा स्वदेश फर्किएको बताएका छन्।

विमानमा आएका केही यात्रुले कुवेतमा गैरकानुनी रूपमा काम गरिरहेका नेपाली पनि उल्लेख्य संख्यामा रहेको बताएका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा एक महिला कामदारले आफ्नो हवाई टिकट कुवेत सरकारले नै व्यवस्था गरेको र नेपाल फर्किने सम्पूर्ण प्रबन्ध मिलाएको जानकारी दिइन्।

यसअघि उक्त घटनालाई ‘अलपत्र नेपालीको उद्धार’ भनिए पनि पछि तथ्य संशोधन गर्दै समाचार अद्यावधिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्