विपद् उद्धारका लागि दुई हेलिकप्टर तयारीमा राखिने
काठमाडौं,चैत १९ — गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।
बुधबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित छलफलमा गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको तत्काल उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने जानकारी दिएका हुन्।
छलफलका क्रममा उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले ज्यानको जोखिम मोलेर नागरिकको उद्धारमा खटिएकोप्रति धन्यवाद व्यक्त गरे।सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार मन्त्री गुरुङले आम नागरिकको ज्यानभन्दा ठूलो अरू केही नभएको उल्लेख गर्दै सुरक्षाकर्मीलाई सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
उनले विपद् सुरु हुनुअघि नै आवश्यक तयारी पूरा गर्न तथा सशस्त्र प्रहरीको जनशक्ति ब्यारेकभन्दा मैदानमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।

