एसइई आजदेखि: सामुहिक अनुगमन निषेध, तीन दिनभित्र उत्तरपुस्तिका परिक्षण
काठमाडौँ,चैत १९। आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष थप पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नयाँ निर्देशिका लागू गर्दै अनियमितता नियन्त्रण र छिटो नतिजा प्रकाशनमा जोड दिएको छ।
यस वर्ष करिब ५ लाख १२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् भने देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको छ।
नयाँ व्यवस्थाअनुसार परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परीक्षकलाई केन्द्रमै बसेर परीक्षण गर्नुपर्ने, मोबाइल प्रयोगमा रोक लगाउने तथा सिसिटिभीमार्फत निगरानी बढाउने व्यवस्था गरिएको छ।
यसैगरी, परीक्षा अनुगमनका नाममा हुने भीड नियन्त्रण गर्न सामूहिक अनुगमनमा रोक लगाइएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।

