देशभर एसइई परीक्षा सुरु: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौँ,चैत १९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको छ। पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको छ।
परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने छ। यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्, जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्।जापानमा रहेको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थी सहभागी भएका छन्।
तीन घण्टाको परीक्षामा अपाङ्गता भएका विद्यार्थीलाई थप १ घण्टा ३० मिनेट अतिरिक्त समय दिइएको छ। साथै, उनीहरूका लागि कक्षा ९ सम्म अध्ययन गरेका व्यक्तिलाई लेखन सहयोगीको रूपमा अनुमति दिइएको छ।

