“कामले बोल्ने सरकार” : रवि लामिछानेको प्रतिबद्धता
काठमाडौँ,चैत १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले वर्तमान सरकार काममुखी हुने र कम बोल्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो वक्ताका रूपमा धारणा राख्दै उनले मुलुकको समृद्धि नै सबैको साझा लक्ष्य भएको उल्लेख गरे। उनले जनताले दिएको म्यान्डेट परिवर्तनका लागि भएको भन्दै सरकार समाधानमुखी ढङ्गले अघि बढ्ने बताए।
लामिछानेले संसद्मा सबै सांसदलाई स्वतन्त्र रूपमा बोल्न दिने, सुशासनमा कुनै सम्झौता नगर्ने र जनताको समस्या समाधानमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे। उनले वर्तमान सरकारलाई ‘जनजी विद्रोहको सन्तान’को संज्ञा दिँदै परिवर्तन र विकास सुनिश्चित गर्ने बताए।
निजी क्षेत्रको लगानी सुरक्षित बनाउने, दलित समुदायमाथि भएको ऐतिहासिक विभेदको क्षतिपूर्ति गर्ने तथा शिक्षा र रोजगारीमा समान पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ। साथै महिलामाथि हुने हिंसामा शून्य सहनशीलता अपनाइने र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई मजबुत बनाइने उनले बताए।
विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने र प्राकृतिक स्रोतको सदुपयोगमार्फत आर्थिक विकास अघि बढाउने पनि उनले प्रतिबद्धता जनाए।

