“न त सत्ता, न त प्रतिपक्ष” : महावीर पुनको स्वतन्त्र भूमिका घोषणा
काठमाडौँ,चैत १९। स्वतन्त्र सांसद महावीर पुनले संसद्मा आफ्नो भूमिका सत्ता वा प्रतिपक्षभन्दा पनि निष्पक्ष रहने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू परम्परागत राजनीतिज्ञ नभई समाजसेवी भएको उल्लेख गरे। “म अचम्मको सांसदका रूपमा आएको छु, मेरो काम गर्ने र बोल्ने शैली फरक हुनेछ,” उनले भने।
पुनले आफू कहिल्यै सांसद बन्ने कल्पना नगरेको तर जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा सुधारका प्रयास सफल नभएपछि निर्वाचनमा आएको बताए। उनले शिक्षा क्षेत्रमा राजनीतिकरण र विकृति देखेकाले सुधारका लागि पहल गरेको जानकारी दिए।
उनका अनुसार विद्यालय, कलेज र विश्वविद्यालय सुधारका लागि तीन वटा विधेयक र चार वटा नियमावली तयार पारिएको थियो, तर अध्यादेश ल्याउन नसक्दा कार्यान्वयन हुन सकेन। ती प्रस्ताव प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको उनले बताए।
पुनले शिक्षा सुधारका लागि आफूले तयार पारेका विधेयकहरू अघि बढाउन सरकारलाई सुझावसमेत दिएका छन्।

