सरकारी विज्ञापन अब सरकारी मिडियामा मात्र: निजी सञ्चारमाध्यमलाई रोक
काठमाडौँ,चैत १९। सरकारले सबै प्रकारका सरकारी विज्ञापन र सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई यस्तो परिपत्र जारी गरेको हो। सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ।
अबदेखि सार्वजनिक निकायका विज्ञापनहरू निजी सञ्चारमाध्यमले नपाउने भएका छन्। पत्रअनुसार गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी तथा सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र सूचना प्रकाशन/प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, विज्ञापनबापतको भुक्तानी सम्बन्धित सञ्चार संस्थाको आधिकारिक बैंक खातामै गर्नुपर्ने र दर–रेट तथा छुटसम्बन्धी व्यवस्था पनि सोही सञ्चारमाध्यमबाट स्वीकृत हुनुपर्ने उल्लेख गरिएको छ।यसअघि भने सरकारी विज्ञापनहरू निजी रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन मिडियामा समेत वितरण हुने गरेको थियो।

