पेट्रोल–डिजेलमा फेरि मूल्यवृद्धि: निगमलाई अर्बौँ घाटा
काठमाडौँ,चैत १९। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपालमा पनि इन्धनको मूल्य वृद्धि गरिएको छ।नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको जनाएको छ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहँदा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसकिएको निगमले जनाएको छ। Indian Oil Corporationबाट प्राप्त पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४७ रुपैयाँ १२ पैसा, डिजेलमा १३३ रुपैयाँ ४५ पैसा र एलपी ग्यासमा प्रतिग्यास सिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको निगमले उल्लेख गरेको छ।
यसरी मूल्य समायोजन हुन नसक्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको छ। समयमै भुक्तानी गर्न नसक्दा इन्धन आपूर्ति नै प्रभावित हुने जोखिम बढेको निगमको भनाइ छ।
उपभोक्ताको हित र आपूर्ति व्यवस्थालाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोष प्रयोग गरेर आंशिक रूपमा मात्र मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।


