विमानस्थलमा गुनासो बढेपछि गृहमन्त्रीको आकस्मिक अनुगमन



काठमाडौँ,चैत २०। गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अनुगमन गर्नुभएको छ ।

सर्वसाधारणबाट पटक–पटक सास्तीसम्बन्धी गुनासो आएपछि मन्त्री गुरुङ बिहीबार साँझ टोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थलगत निरीक्षण गर्नुभएको हो।

अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको दुःख नपर्ने गरी काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिनुभयो। विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

मन्त्री गुरुङले यात्रुका गुनासो दोहोरिन नदिन सचेत गराउँदै सामान्य लत्ताकपडा तथा व्यक्तिगत सामानमा अनावश्यक जाँच नगर्न समेत निर्देशन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्