देशभर बदली, हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना
काठमाडौँ,चैत २०। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।
यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहेको जनाइएको छ।
महाशाखाले शुक्रबार दिउँसो हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ। गण्डकी र कर्णालीका केही स्थानमा भने मध्यम वर्षा वा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले मौसमको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

