“इरानलाई ढुङ्गेयुगमा पुर्याउने चेतावनी” — ट्रम्पको कडा अभिव्यक्ति, युद्ध थप चर्किने संकेत
काठमाडौँ,चैत २०— डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता असफल भएपछि कडा चेतावनी दिएका छन्। अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार ट्रम्पले अबको दुई–तीन साताभित्र इरानमाथि भीषण आक्रमण हुन सक्ने बताएका छन्।
बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिका–इजरायल पक्ष आफ्नो रणनीतिक लक्ष्य नजिक पुगेको दाबी गरे। उनले भने, “अब हामी चाँडै सबै सैन्य लक्ष्य पूरा गर्नेछौँ र इरानलाई ढुङ्गेयुगसम्म पुर्याउनेछौँ।”
गत करिब ३५ दिनदेखि अमेरिका, इजरायल र इरान बीच जारी युद्धले हजारौँ मानिसको ज्यान लिइसकेको छ। फेब्रुअरी अन्त्यदेखि सुरु भएको आक्रमणपछि इरानले पनि प्रतिकार गर्दै इजरायल, अमेरिकी सैन्य अड्डा र खाडी क्षेत्रका देशहरूमा हमला गरेको छ।
युद्धकै बीच इरानले तेल आपूर्ति हुने महत्वपूर्ण जलमार्ग स्ट्रे अफ हर्मुज बन्द गरेपछि विश्व बजारमा समेत असर परेको छ। यसले अमेरिकी आन्तरिक राजनीतिमा समेत प्रभाव पारेको जनाइएको छ।
यसैबीच, इजरायली सेनाले बिहीबार बिहान इरानबाट क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ। उक्त आक्रमण ट्रम्पको सम्बोधन लगत्तै भएको बताइएको छ। मध्य इजरायलका विभिन्न क्षेत्रमा क्षति पुगेको र सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। सञ्चारमाध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन्।
युद्ध झनै चर्किने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढ्दै गएको छ।

