शिक्षामा ठूला सुधार सुरु: क्याम्पसबाट दलीय राजनीति हटाइने



काठमाडौं,चैत २० । सरकारले ल्याएको शासकीय सुधार कार्ययोजना कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रक्रिया सुरु गरेको छ।

मन्त्रालयका अनुसार शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्न ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाइनेछ। त्यसपछि ९० दिनभित्र विद्यार्थी परिषद् शैलीको नयाँ संयन्त्र विकास गरिने योजना छ।

कार्ययोजनाअनुसार विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको नतिजा निर्धारित क्यालेन्डरअनुसार सार्वजनिक गरिनेछ भने स्नातकसम्म अध्ययनका लागि नागरिकता अनिवार्य नहुने व्यवस्था मिलाइनेछ।

त्यस्तै, आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा प्रणाली हटाइनेछ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार कार्ययोजना कार्यान्वयनका लागि आवश्यक कार्यविधि र सरोकारवाला निकायसँग छलफल सुरु भइसकेको छ। सरकारले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा योजना अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्