१०% बेड निःशुल्क अनिवार्य: अस्पतालहरूमा कार्यान्वयन सुरु



काठमाडौँ,चैत २०— सरकारले सरकारी तथा निजी अस्पतालमा कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय गरेसँगै देशभरका अस्पतालहरूले यसको कार्यान्वयन सुरु गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३२ अस्पताल (१९ निजी र १३ सरकारी) ले निःशुल्क शय्यामा सेवा प्रदान गर्न थालेका छन्। विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई उपचार पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न कदम अघि बढाइएको मन्त्रालयले जनाएको छ। यसअन्तर्गत वीर अस्पताल, गङ्गालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल लगायत अस्पतालमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरिएको छ।

यस्तै, अस्पताल सेवा सुधार निर्देशिकाको मस्यौदा तयार गरिएको छ भने सुदूरपश्चिमका टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पताल तथा मधेस प्रदेशको कलैया अस्पतालमा जलन उपचार सेवा विस्तारको तयारी भइरहेको छ। साथै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध जलन उपचार सेवा पुनःसञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

सरकारको यो कदमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्