घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ
काठमाडौँ, चैत २० – धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षक पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रहरी निरीक्षक वकिल अधिकारीलाई रङ्गेहात नियन्त्रणमा लिएको हो। बर्दिवासस्थित अख्तियार कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा काम गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक अधिकारीले निर्माण कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा काममा दुःख–हैरानी दिने गरेको आरोप छ। सोही क्रममा रकम माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

