मोटरसाइकल चोरीमा संलग्न तीन युवा पक्राउ



सप्तरी,चैत २० । मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–१० का १९ वर्षीय शिवनन्दन यादव, वडा नं. ४ का १९ वर्षीय सञ्जु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति राजविराज नगरपालिका–३ स्थित पोखरेल टोलमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको थियो । चोरीपछि करिब ५ सय मिटर टाढा लगेर मोटरसाइकलको तार सर्ट गरी लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले शङ्का लागि जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेकाहरूलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्