हाइसको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध



बाँके,चैत २० । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडा टेपरीमा हाइसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय पाँच वर्षीय सुगन राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ज १५०५ नम्बरको ईभी हाइसले शुक्रबार बिहान करिब ११:३० बजे बाटोमा हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याइए पनि दिउँसो १२:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

हाइस चालक अजय केसीले दुर्घटनापछि सवारी लिएर भागे पनि डुडुवा गाउँपालिका–कम्दीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध गरेका छन्। सडकमा ढुङ्गामुढा राखी सवारी आवागमन बन्द गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्